धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तोडफोड भएको घटनाप्रति ४ राजनीतिक दलहरुले दुःख प्रकट गरेको छ । साथै ती दलले आफुहरुको नीयत ताला तोड्ने नभएको भन्दै घटनाको जिम्मेवारी पनि लिने बताएका छन् । 

उपकुलपति कार्यालयको ताला र ढोकाको शिशा अराजकशैलीमा तोडफोड भएको घटनाबारे चौतर्फी आलोचना भएपछि नेकपा एमाले(संस्थापक पक्ष), राप्रपा, संघीय लिम्बुवान मञ्च र राप्रपा नेपालले बिहिबार पत्रकार सम्मेलन गरेर उक्त घटनाको जिम्मा लिएको हो । साथै, ती दलहरुले ओपिडी सेवा सुचारु हुनुपर्ने मात्र आफुहरुको एक सुत्रिय माग भएको प्रष्ट पारेको छ । एमाले संस्थापक पक्षका अध्यक्ष हर्कजंग एभेङले आफुहरुले पनि प्रतिष्ठान सुधारकै लागि आन्दोलन गरेको बताए । उनले ताला तोड्ने योजना र नियत नभए पनि परिस्थितिवश कार्यकर्ताहरु आक्रोशित भएर उक्त घटना भएको स्वीकार गरे ।

bp-todfod 1

एभेङले आफुहरुको योजना शान्तिपुर्ण प्रर्दशन गर्ने र धर्ना गर्ने मात्र भएको पनि दाबी गरे । ‘ताला तोड्ने नियत थिएन, योजना थिएन । शान्तिपुर्ण प्रर्दशन गर्ने र धर्ना गर्ने थियो । तर पुलिस प्रशासनले अभद्र व्यवहार गर्न थाल्यो, त्यो बीचमा कहाँबाट हेम्मर आयो,’उनले भने,‘त्यसमा हाम्रो कार्यकर्ताले नै गरेको पायौं, त्यसको जिम्मा लिइसकेका छौ । लाठी प्रहार भयो, र अनियन्त्रित भएर भिडबाट ताला फोडियो । नैतिकरुपमा जिम्मा लिनुपर्छ । हामी त्यही भएकोले जिम्मेवारी लिनुपर्छ । ताला फोड्ने होइन, खोलिनुपर्छ भन्ने चै हाम्रो भनाई थियो ।’ उनले पदाधिकारीसँग आफुहरु परिचितसमेत नभएकोले कमिशन वा लाभ पाएको भन्ने आरोप सत्य नभएको पनि बताए ।

संघीय लिम्बुवान मञ्च नेपालका धरान अध्यक्ष सञ्जुहाङ साँवाले मेयर तिलक राईसहित छलफल गर्दा ओपिडी सेवा अवरोध नगर्न आग्रह गरेपनि डाक्टरहरुले नमानेको कारण जनताको स्वास्थ्यको लागि आन्दोलन गर्ने निर्णय गरिएको बताए । उनले पनि शान्तिपुर्णरुपमा गेटबाहिर मात्र प्रर्दशन गर्ने योजना भएको र ताला फोड्ने भन्ने नभएको बताए । ‘शिव मार्गमा भेला हुने, र मेनगेटसम्म जाने योजना थियो । हाम्रो भाईहरुलाई मुलगेटमा प्रहरीले झण्डा खोसेर, लात हानेकोले आक्रोश भयो, र ताला फोडियो । त्यो नहुने चिज भयो,’उनले भने,‘प्रतिष्ठानलाई काम गर्न नदिएर धरानमा असफल भयो भनेर अर्के ठाउँ सार्ने योजना त होइन ? भन्ने शंका पैदा भएको छ ।’

  मञ्चकै जिल्ला अध्यक्ष अमर इजमले प्रहरीले लाठी चार्ज गर्दा आपत्ति नभए पनि राष्ट्रिय झण्डा र पार्टीको झण्डाको अपमान भएकोले अप्रिय घटना हुन पुगेको बताए । उनले पनि उक्त घटनाप्रति खेद व्यक्त गरे । ‘वीपीलाई धरानमा चल्न सकेन, असफल भयो भन्ने बनाएर कतै अर्को स्थानमा सार्ने षडयन्त्र पो हो कि ?,’उनले भने,‘हाम्रो एक बुँदे माग मात्र छ, आन्दोलन गर्नुस्, हिजो पनि हामीले सहभागीता र ऐक्यवद्धता जनाएका थियौं, तर स्वास्थ्य सेवा जस्तो संवेदनशील कुरा नरोक्नुस् भनेको हो ।’